नियम ३४
सामाजिक सुरक्षा
(१) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई समाजमा स्वतन्त्र र स्वावलम्बनपूर्वक जीवनयापन गर्न सक्ने गरी सक्षम बनाउन अपाङ्गता भएका व्यक्तिको योगदान रहने गरी स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिलाई नेपाल सरकारले तोके बमोजिम मासिक जीवनयापन भत्ता रकम उपलब्ध गराइनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विपन्न परिवारका पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका बेरोजगार व्यक्तिलाई नेपाल सरकारले तोके बमोजिमको बेरोजगार भत्ता उपलब्ध गराइनेछ ।
(४) नेपाल सरकारले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिको एक जना सहयोगीलाई त्यस्तो अपाङ्गता भएका व्यक्तिले उपनियम (२) बमोजिम पाउने भत्ता रकमको आधा रकम बराबरको रकम मासिक रूपमा सहयोगी भत्ता बापत उपलब्ध गराउनेछ ।
(५) उपनियम (२) र (३) बमोजिमको भत्ता रकम तोक्दा अन्य प्रचलित कानून बमोजिम अपाङ्गता भएका व्यक्तिलाई सोही प्रयोजनका लागि उपलब्ध हुने भत्ता वा सुविधामा दोहोरो नपर्ने गरी तोक्न सकिनेछ ।
(६) पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिले आफ्नो निजी शौचालय अपाङ्गतामैत्री बनाउन चाहेमा नेपाल सरकारले तोके बमोजिमको रकम अनुदान वापत उपलब्ध गराउन सकिनेछ ।